
डाउन सिनड्रोम समाज नेपालले संयुक्त राष्ट्र सङ्घले तय गरेको ‘डाउन सिनड्रोम अवस्था प्रतिको परम्परागत नकारात्मक सोचको अन्त्य गरौँ’ भन्ने नारा सहित १३ औ अन्तर्राष्ट्रिय विश्व डाउन सिनड्रोम दिवस मनाउँदै छ ।
दिवसका अवसरमा डाउन सिनड्रोमबारे जानकारीमूलक अन्तरक्रिया,खेलकुद,नृत्य जस्ता रचनात्मक कार्यक्रम समेत आयोजना गरिने आयोजकले बताएका छन् ।
डाउन सिनड्रोम समाज नेपालले १३ औ विश्व डाउन सिनड्रोम दिवसका अवसरमा मार्च १० तारिका दिन अर्थात् फागुन २६ गते समावेशी सांस्कृतिक साँझ को आयोजना गर्दै छ ।यसै गरि मार्च २१ अर्थात चैत ८ गते विश्व डाउन सिनड्रोम दिवसको अवसरमा पहिलो युवा सम्मेलन र मार्च २९ तारिकमा डाउन सिनड्रोम अपाङ्गता भएका बालबालिकाहरू सहित आउट डोर लगायतका कार्यक्रमहरूको आयोजना गरिने डाउन सिनड्रोम समाज नेपालकी अध्यक्ष एवं अभिभावक शिला थापाले बताइन् ।
डाउन सिनड्रोम अपाङ्गताको विषयमा जनचेतना जगाउने तथा सरोकारवाला निकायहरूलाई उनीहरूको हक हित र अधिकारका विषयमा सचेत गराउने उद्देश्यले हरेक वर्षको मार्च २१ तारिका दिन विभिन्न नारा सहित विश्व डाउन सिनड्रोम दिवस मनाउने गरिन्छ ।
के हो त डाउन सिनड्रोम ?
डाउन सिनड्रोम रोग होइन । यो एक जन्मजात अवस्था हो । बच्चा गर्भमा हुँदा नै यसको विकास भइसकेको हुन्छ । सामान्य शरीरमा ४६ वटा क्रोमोजोम २३ जोडीमा मिलेर कोषमा रहेका हुन्छन् । तर डाउन सिनड्रोम अवस्थामा ४७ वटा क्रोमोजोम रहेका हुन्छन् । यो एउटा बढी क्रोमोजोम २१औँ जोडीका रूपमा देखिने भएकोले यसलाई ट्राइसोमी २१ पनि भनिन्छ ।
क्रोमोजोमको सङ्ख्याले बौद्धिक अपाङ्गताको अवस्था सिर्जना हुन्छ र यसैको कारणबाट बालबालिकाको शारीरिक तथा बौद्धिक अवस्थामा भिन्नता देखा पर्छ ।