मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित

 मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित हुनुभएको छ ।

मेक्सिको सिटी निवासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उहाँले ५८ देखि ६० प्रतिशत मत प्राप्त गर्नुभएको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ ।

विशेष गरी दुई दर्जनभन्दा बढी आकाङ्क्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकोले महिला नेतृत्व पाएको छ । मतदाताहरूको सुरक्षाका लागि हजारौँ सैनिकहरू तैनाथ गरिएको थियो ।

शेबनामले प्राप्त गरेको मत प्रतिशत उहाँको मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अङ्कभन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अङ्क बढी हो ।

निर्वाचनमा अति हिंसात्मक लागूऔषध गिरोहले आतङ्कित पारेका क्षेत्रहरूमा छिटपुट हिंसाका बाबजुद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिको भरिका मतदान केन्द्रहरूमा मतदाताहरूको भीड लागेको थियो ।

उहाँले आफू निर्वाचित हुन पहिले नै मतदान भएको दिनलाई ‘ऐतिहासिक दिन’ का रूपमा घोषणा गर्नुभएको थियो । मतदानपछि शेबनामले आफूलाई आफैँले दिएको मत आफ्नो जीतका लागि नभई ९३ वर्षीया अग्रज वामपन्थी नेता इफिजेनिया मार्टिनेजको सम्मानका लागि भएको बताउनुभएको थियो ।

“लोकतन्त्र दीर्घकालसम्म रहिरहनेछ,” शेनबामले आफू निर्वाचित बनेपछि शुभचिन्तक तथा सहयोगी कार्यकर्ताको भीडलाई सम्बोधन गर्दै घोषणा गर्नुभयो ।

निर्वाचन सकिएपछि गाल्भेजले आफ्ना अनुयायीहरूलाई मतगणनालाई नजिकबाट नियाल्न आग्रह गर्नुभएको थियो ।

“हामी अधिनायकवाद र सत्ताविरुद्ध प्रतिस्पर्धा गरिरहेका छौँ र उनीहरू जे पनि गर्न सक्षम छन्,” सिनेटर तथा आदिवासी मूलकी व्यवसायीसमेत रहेकी ६१ वर्षीया गाल्भेजले भन्नुभयो ।

हरेक दिन करिब १० जना महिला वा बालिकाको हत्या हुने मेक्सिकोको सबैभन्दा अग्लो राजनीतिक सिसाको छाना एक महिलाले तोडेको भन्दै विजय र्‍यालीमा सहभागी महिलाले खुशी व्यक्त गरेका छन् ।

मेक्सिको सिटीकी ५५ वर्षीया क्लिनर क्लेमेन्सिया हर्नान्डेजले भन्नुभयो, “नवनिर्वाचित महिला राष्ट्रपति शेनबाम यो देशका लागि परिवर्तनको बाहक बन्नुहुनेछ । उहाँले महिलाका लागि अझ धेरै काम गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

उहाँले भन्नुभयो, “मेक्सिकोमा धेरै महिला आफ्ना जीवनसाथीको अधीनमा छन् । उनीहरूलाई कामका लागि घरबाट बाहिर निस्कन दिइएको छैन । यस्तो अवस्थामा एक महिला देशको सर्वोच्च राजनीतिक पद धारण गर्न सक्नु समस्त महिलाहरूको विजय हो ।”

यद्यपि, ३० वर्षीया डेनिएला पेरेजले महिला राष्ट्रपति हुनु देशका लागि ‘ऐतिहासिक कुरा’ हुने बताउनुभयो । राष्ट्रपतिका मुख्य दुवै उम्मेदवार उहाँको विचारमा ‘पूर्णतया नारीवादी’ थिएनन् ।

रसद कम्पनीका प्रमुख व्यवस्थापक पेरेजले भन्नुभयो, “हामीले महिला अधिकारमा सुधार ल्याउन, महिला हत्याको समस्या समाधान गर्न र महिलाहरूलाई थप सहयोग गर्न उनीहरूको भूमिका हेर्नुपर्नेछ ।”

शेनबामले आफ्नो लोकप्रियताको धेरै श्रेय निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरलाई दिनुभएको छ । वामपन्थी नेता तथा मोरेना पार्टीका सल्लाहाकार ओब्राडोरले राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अनुमोदन दर ६० प्रतिशतभन्दा बढी हुँदाहुँदै पनि उहाँले दोस्रो कार्यकालका लागि आफूलाई निर्वाचनमा सहभागी गराउनुभएको थिएन ।

सडक खाना विक्रेता ५० वर्षीया रीना बाल्बुएनाले सत्तारुढ मोरेना पार्टीले वृद्धवृद्धा र बालबालिकालाई धेरै सहयोग गरेकाले आफूले शेनबामलाई मतदान गरेको बताउनुभयो ।