
विश्वकपपछिको बहुप्रतीक्षित फुटबल मेला मानिने युरोपियन फुटबल प्रतियोगिता शुक्रबार अबेर राति जर्मनीमा सुरु हुँदै छ । आयोजक जर्मनीले स्कटल्यान्डसँगको खेललगत्तै युरो कप प्रारम्भ हुने छ । विश्वकपपछि यो फुटबलको सबभन्दा ठुलो मेला हो तर फुटबल विशेषज्ञहरू युरोपेली प्रतियोगितालाई विश्वकपभन्दा पनि प्राविधिक रूपमा उच्चस्तरको मान्छन् । युरोपेली टिमको खेलस्तर अन्य महादेशको भन्दा उच्च भएकाले यस्तो मानिएको हो । त्यसैले छनोट प्रतियोगितादेखि नै युरोपेली फुटबलको चर्चा हुने गर्दछ ।
युरो कप जर्मनीमा तेस्रो पटक आयोजना हुँदै छ । सन् १९८८ मा पश्चिम जर्मनीले पहिलो पटक युरो कपको आयोजना गरेको थियो । त्यसपछि सन् २०२० को संस्करणका केही खेल पनि जर्मनी आयोजक थियो । यसै गरी सन् २००६ मा जर्मनीले विश्वकप फुटबलको पनि आयोजना गरेको थियो ।