बोलबम सुरु : कोशी नदीमा जल भर्नेको भिड

सुनसरीको विभिन्न स्थानमा रहेको शिवालय तथा शिव मन्दिरहरुमा बोलबम सुरु भएको छ । साउन महिनाको पहिलो सोमबारबाट सुरु भएको भगवान शिवको पुजापाठ तथा सोमबार उपवास बस्नेहरुले नदी तथा जलासयबाट जल ल्याएर अर्पण गर्ने गरि बोलबम सुरु भएको छ ।

जिल्लामा बोलबम सुरु भएपछि सोमबार सप्तकोशी नदीको चतरा, राजाबास र कोशी व्यारेज क्षेत्रमा जल भर्नेहरुको भिड लागेको छ । हजारौंको सङ्ख्यामा बोलबम जाने भक्तजनहरुले स्थान गर्ने र जल लिएर आ आफ्नो क्षेत्रको शिवालयमा जानेहरु एकसाथ आएकाले कोशी नदीमा जल भर्नेहरुको भिड बढेको हो ।सप्तरीको बलुवा सहितको क्षेत्र र सुनसरीको भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकाको रामनगरभुटाहा विशाल मिथलेश्वर बाबाधाममा जल अपर्ण गर्नका लागि बोलबमका भक्तजनहरु एकसाथ कोशी नदीमा आएकाले जल भर्नेहरुको भिड बढेको कोशी ८ भाण्टाबारीका देवराज यादवले जानकारी दिनुभयो ।

त्यसैगरी इनरुवा ९ बबियाको शिव शक्ती मन्दिर र शिव मन्दिरमा समेत सोमबारबाट बोलबम सुरु भएको मन्दिर समितिका अध्यक्ष जोगिन्द्र शर्माले जानकारी दिनुभयो । हजारौं भक्तजनले कोशी नदीमा जल भरेर मन्दिरमा जलअपर्ण गरेको बताउनुभयो । उता भोक्राहा नरसिंह गाउँपालिकाका सुरेन्द्र मेहताका अनुसार श्रावणको पहिलो सोमबार गाउँठाउँका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुले विहानै देखि जल अर्पण गरिरहेकाले भिड बढेको छ ।

भोक्राहा नरसिंह २ अकाहा बजारमा रहेको जलेश्वर शिव मन्दिरमा पनि सप्तकोशी नदीको राजाबास घाटबाट जल भरी श्रद्धालु भक्तजनहरुले जलेश्वर मन्दिरमा जल अर्पण गरेको छ । श्रावण महिना भगवान शिवको प्रिय महिनाको रुपमा मानिन्छ । जानकारहरुका अनुसार समुन्द्र मन्थनबाट निस्केको विष भगवान शिवले पिएका थिए ।

बिष पिएपछी शिवको जिउबाट बिषको लहर उत्पन्न भएको थियो । शिवको जिउबाट उतप्न्न भएको विषको लहर साउनको जल अर्पण गर्नाले घर परिवारमा दुख, कष्ट कल खण्ड, रोग ब्यादी, भव्य बचन र आकस्मिक मृत्युबाट जोगिनुका साथै व्याक्ती तथा परिवारमा सुख, समृद्धि आउने धार्मिक विश्वास रहेको छ । श्रावण महिनामा भगवान शिवलाई जल, तिल, हल्दी, दूध, बेलपत्र, धतुरो, गाजा, घ्यु लगायत शिव लिङ्गमा अर्पण गर्नाले भगवान शिव प्रसङ्ग हुने पनि धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।