काठमाडौंको एसिया प्यासिफिक स्कूल विभिन्न अवार्डबाट सम्मानित

विद्यालय सञ्चालनको छोटो समयमै राष्ट्रिय अन्तराष्ट्रिय अवार्डहरु जितिसकेको काठमाडौंको एसिया प्यासिफिक स्कूल पोखरामा सम्पन्न भएको नमुना संयुक्त राष्ट्रसंघको प्रदेशस्तरीय सम्मेलनमा विभिन्न अवार्डहरूबाट सम्मानित भएको छ । यही भदौ ८, ९ र १० गते भएको उक्त सम्मेलनमा गण्डकी र वाग्मती प्रदेशका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो ।

विद्यार्थीहरूको बौद्धिक र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक संस्था ग्लोबल हेल्प फाउन्डेसनका अध्यक्ष सञ्जीव भट्टराईले बताए । पोखरा विश्वविद्यालयका उपकुलपति प्रेम नारायण अर्यालले सम्मेलनको उद्‌घाटन गर्दै यस्ता सम्मेलनले विद्यार्थीको प्रतिभा तिखारिदै जाने र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार हुने धारणा व्यक्त गरे ।

पोखराका विभिन्न नगरपालिकाका मेयर वडा अध्यक्षहरु र अन्य शैक्षिक व्यक्त्विहरूको उपस्थिति रहेको उक्त सम्मेलनको अन्तिम दिन गण्डकी विश्वविद्यालयका उपकुलपति डा. नवराज देवकोटाले संयुक्त राष्ट्रसंघले विभिन्न क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्दै विद्यार्थीहरुलाई प्रकृति संरक्षण गर्न, मानवीय सेवा गर्न , प्रविधिको विकास गर्न , आफ्नो बौद्धिक क्षमता बढाउन र नेतृत्व गर्न बिद्दार्थी आफै अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरे ।

काठमाडौको एसिया प्यासिफिक स्कूलबाट ६० जना विद्यार्थीलाई सम्मेलनमा सहभागी गराएका विद्दालयका शिक्षा निर्देशक राजन अधिकारीले विश्वका बल्दाबल्दा विषयमा विद्यार्थीहरुले गहिरो अध्ययन गर्दै, छलफल गरि आफ्ना धारणा निर्धक्क पूर्वक राखेकोमा खुशी व्यक्त गरे ।बिभिन्न अवार्ड प्राप्त गरेकोमा विद्दार्थीहरु प्रति गर्व गर्दै आगामी अक्टोवरमा जर्मनीमा हुने सम्मेलनमा समेत विद्यार्थीहरु सहभागी गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।