अपाङ्तामैत्री शब्दावली प्रयोगमा जोड

काठमाडौँ, मङ्सिर १९ गते ।अपाङ्गता भएका व्यक्तिहरुको सन्दर्भमा प्रकाशित समाचार, लेख, रचनाहरुमध्ये ४० प्रतिसतमा शब्दहरु अपाङ्गतामैत्री नभएको सर्वेक्षणले देखाएको छ ।बौद्धिक अपाङ्गता अभिभावक सङ्घले सन् २०२३ जनवरीदेखि डिसेम्वर महिनासम्म विभिन्न राष्ट्रिय दैनिकहरुलगायत सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचार र लेख रचनाहरुको सम्वन्धमा गरेको अनुगमन सर्वेक्षण रिपोर्टमा ६० प्रतिसत अपाङ्गतामैत्री र ४० प्रतिसतमा अपाङ्तामैत्री शब्दावली प्रयोग नभएको पाईएको हो ।

सो सङ्घद्वारा बुधवार राजधानीमा आयोजित “मानव अधिकार र अपाङ्गतामैत्री सञ्चार नीतिको दृष्टिकोणबाट राष्ट्रिय स्तरको मिडियामा प्रकासित बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सम्वन्धी समाचार रिपोर्ट” सार्वजनिक गर्दै सो कुराको जानकारी दिइएको हो ।विष्णु विडारीले सो रिपोर्टबारे जानकारी दिंदै अपाङ्गता भएका व्यक्तिबारे लेखिने सामाचारमध्ये ४२ प्रतिसत शिक्षा सम्वन्धी रहेको, ५३ प्रतिसत दयाभावका र ४७ प्रतिसत अधिकारको माग सम्वन्धमा प्रकाशित भएको बताउनुभयो ।

बौद्धिक अपाङ्गता अभिभावक सङ्घका अध्यक्ष राजु बस्नेतले अपाङ्गताको सम्वन्धमा प्रकाशित समाचारमा अपाङ्गतामैत्री शब्दावली नपर्नुमा यस सम्वन्धमा अझै पनि बुझाउनुपर्ने दायित्व कायमै रहेको भनेर आफुले बुझेको बताउनुभयो ।उहाँले समाजमा पछाडि पारिएको वर्गबारे समाचार, लेख रचना लेखेर समाजलाई सुसुचित पार्ने जमर्को गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमका जिम्मेवार व्यक्तित्वहरुलाई अपाङ्गतामैत्री शब्दावलीबारे बुझाउने सम्वन्धमा सरोकारवाला निकायहरु सकारात्मक रहेको बताउनुभयो ।

इन्डिपेन्डेट लिभिङ सेन्टरका अध्यक्ष एवं अपाङ्गता अधिकारकर्मी भोजराज श्रेष्ठले अपाङ्गताको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीका लागि सञ्चारमाध्यमको विशेष सहयोग रहेको बताउँदै अपाङ्ताभित्रको विविधतासँग सम्वन्धीत शब्दावलीहरु कुन प्रयोग गर्ने कुन नगर्नेबारे सचेनात्मक कार्यक्रमको अझै पनि आवश्यकता रहेको रिपोर्टले देखाएको बताउनुभयो ।

नेपाल नेत्रहिन सङ्घका अध्यक्ष शिशिर खनालले अपाङ्गता भएका व्यक्तिले पनि शिक्षा, सिपको अवसर पाए अन्य व्यक्ति सरह नै काम गर्न सक्छन् भन्दै उनीहरुलाई अपाङ्गताकै कारण फरक नदेखौं भन्दै सम्माजनक शब्दले सम्वोधन गर्न र लेख्न आग्रह गर्नुभयो ।
अपाङ्गता अधिकारकर्मी किरण सिल्पकारले यस क्षेत्रमा विगतमा भन्दा धेरै राम्रा अभ्यास र प्रयास भइरहेको भन्दै अपाङ्गता अधिकारको सवालसँगै अपाङ्गता सञ्चार संहिता र शब्दावलीबारे पनि बुझाउदै जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।